
नेपालगंज । नेपालको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने मुख्य रंगशालाका रुपमा रहेको दशरथ रंगशालाको मैदान अवस्थाबारे चर्चा सेलाउन नपाउँदै अहिले नेपालगंज रंगशालाको अवस्थाबारे चर्चा बाहिर आएको छ ।
खबरकुरा डटकममा प्रकाशित समाचार अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपालगंज रंगशालामा निर्माण गरेको सेन्थेटिक ट्रयाक निर्माण सम्पन्न भएको महिना दिन नबित्दै उप्किएको छ ।
सेन्थेटिक ट्रयाक निर्माणका लागि राखेप र निर्माण कम्पनी पञ्चकन्या साइनकोट्स जेभी, ललितपुर बीच सन् २०२३ को मार्च २३ तारीखका दिन सम्झौता भएको थियो । सेन्थेटिक ट्रयाक निर्माणका लागि राखेपले निर्माण कम्पनीसँग ९ करोड ८६ लाख ४० हजार ८ सय ३२ रुपैयाँमा ठेक्का सम्झौता गरी सन् २०२४ को जनवरी ५ तारीखसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो ।
तर निर्माण कम्पनीले गत असार मसान्तमा मात्र उक्त सेन्थेटिक ट्रयाकको निर्माण सम्पन्न गरेको थियो । खबरकुरा डटकमका अनुसार निर्माण सम्पन्न भए तापनि निर्माण कम्पनीले राखेपलाई सेन्थेक ट्रयाक हस्तान्तरण प्रक्रिया सम्पन्न गरेको थिएन । यद्यपि निर्माण कम्पनीले आफूले लिनुपर्ने सबै रकम लिईसकेको बताइएको छ ।
निर्माण सम्पन्न भएको महिना दिन नबित्दै सेन्थेटिक ट्रयाक उप्किएपछि त्यस विषयमा स्थानीय नागरिक अगुवाहरुले पनि चासो लिएका छन् । साथै ट्रयाक निर्माणमा बेवास्ता गरी निर्माण कम्पनीले गुणस्तरहिन सामाग्री प्रयोग गरेको हुन सक्ने आशंका गरेका छन् । सम्बन्धित खेलाडीहरुले अभ्यास गर्न नपाउँदै र प्रतियोगिता आयोजना नहुँदै ट्रयाक उप्किनुलाई स्थानीय खेलप्रेमीहरुले चिन्ताको विषयका रुपमा समेत हेरेका छन् ।
स्थानीय खेल निकायहरुले पनि सेन्थेटिक ट्रयाक निर्माणमा गुणस्तरहिन सामाग्री प्रयोग भएको र निर्माण कार्यमा पनि बेवास्ता भएको बताउँदै यसबारे राखेपले जिम्मेवारी लिनुपर्ने र त्यसको आवश्यक छानबिन गरी जवाफ दिनुपर्ने स्थानीय खेल निकायहरुको भनाई समेत छ ।
(तस्विर सांभारः खबरकुरा)