कैलारी । कैलालीको कैलारी गाउँपालिका–४, के गाउँमा जारी २७औँ निसर्ग महिला तथा पुरुष फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत शुक्रबार पुरुषतर्फका दुई क्वार्टरफाइनल खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढी र बुलबुले क्लब, रानीझिरौखाले २–२ गोलको बराबरी खेले। बुलबुलेका उमेशबहादुर साउदले १२औँ र बिरेन्द्र सुनारले ५९औँ मिनेटमा गोल गरे। सुदूरपश्चिम प्रदेश प्रहरीका रंगल चौधरीले ७१औँ तथा दिवस चौधरीले ७४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। पेनाल्टी सुटआउटमा प्रहरीले ४–३ को जीत निकाल्दै सेमिफाइनलमा स्थान बनायो। गोलरक्षक जीवन भट्टराई खेलको उत्कृष्ट खेलाडी चुनिए।
दोस्रो खेलमा नमोबुद्ध युवा क्लब, धनगढीले वनदेवी समन्वय युवा क्लब, कैलारीलाई ५–१ ले पराजित गर्यो। नमोबुद्धका भुवन चौधरीले २औँ, ४४औँ र ७०औँ मिनेटको अतिरिक्त समयमा गोल गर्दै ह्याट्रिक पूरा गरे। अविनाश ऐडीले २८औँ र दिपक बोहराले ३९औँ मिनेटमा गोल थपे। वनदेवीका तर्फबाट किरण चौधरीले १९औँ मिनेटमा एक गोल फर्काए। ह्याट्रिककर्ता भुवन चौधरी खेलको उत्कृष्ट खेलाडी घोषित भए।
शनिबार तेस्रो क्वार्टरफाइनलमा बिहान ११:३० बजे संघर्ष स्पोर्ट्स क्लब, मालाखेती र आयोजक न्यु युवा सुन्दर शक्ति क्लब, के गाउँबीच प्रतिस्पर्धा हुनेछ। दिउँसो ४ बजे घोडाघोडी फुटबल एकेडेमी, घोडाघोडीले ईलाईट युवा क्लब, वनकट्टाको सामना गर्नेछ।
प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ८ टोली सहभागी छन्। पुरुष विजेताले रु. १ लाख तथा उपविजेताले रु. ५० हजार, महिलातर्फ विजेताले रु. ४० हजार तथा उपविजेताले रु. २५ हजार प्राप्त गर्नेछन्। प्रतियोगिता भदौ २० देखि ३१ गतेसम्म सञ्चालन भइरहेको छ।
- युवा सुन्दर शक्ति र ईलाईट पुरुष क्वार्टरफाइनलमा, सुर्मादेवी महिला सेमिफाइनलमा
- घोडाघोडी महिला सेमिफाइनलमा, संघर्ष पुरुष क्वार्टरफाइनलमा; बिहीबार तीन खेल हुने
- घोडाघोडी पुरुष क्वार्टरफाइनलमा, वनदेवी महिला सेमिफाइनलमा
- नवबुद्ध र बुलबुलेको शानदार जीत
- महिलातर्फ न्यू कालिका वाकओभरबाट सेमिफाइनलमा, पुरुषतर्फ सुदूरपश्चिम प्रदेश प्रहरी क्वार्टरफाइनलमा