पिपरिचापा । एकतर्फी र फराकिलो जित निकाल्दै फर्साटिकर युवा क्लब, फर्साटिकर यहाँ जारी प्रथम गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको प्रिक्वाटरफाइनलतर्फ फर्साटिकरले सौभाग्य युवा क्लब, बुटवलमाथि शून्यका विरुद्ध ११ गोलको भारी अन्तरको जित निकाल्यो । फर्साटिकरका लागि अवतर थापा एक्लैले नौ गोल गर्दै ट्रिपल ह्याट्रिक पूरा गरे । थप दुई गोल भने बलराम न्यौपाने र बिशाल थापाले गरे ।
खेलमा एक्लैले नौ गोल गरेका फर्साटिकरका अवतार थापा म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत भदौ ११ गते मंगलबारको प्रिक्वाटरफाइनल खेल न्यु सिर्जना युवा क्लब, करौजिया र विश्व शान्ति युवा क्लब, सालझण्डी बीच हुने खेल संयोजक रोशन पुनले जानकारी दिए ।
गौतम बुद्ध सामुदायिक विकास संस्था, कञ्चन–५, पिपरिचापा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भदौ २० गतेका दिन हुनेछ ।