पिपरिचापा । विश्व शान्ति युवा क्लब, सालझण्डी यहाँ जारी प्रथम गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको प्रिक्वाटरफाइनलतर्फ विश्व शान्तिले न्यु सिर्जना युवा क्लब, करौजियालाई २–० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।
विश्व शान्तिको जितमा दुवै गोल सुरज थारुले गरे । खेलमा सुरजलाई ह्याट्रिक गर्ने अवसर पनि थियो । शुरुवाती समयमा पाएको पेनाल्टी प्रहारलाई उनले सदुपयोग गर्न सकेनन् । उनको प्रहार विपक्षी टोलीका गोलरक्षक बिष्णु पल्ली मगरले क्लियर गरेका थिए ।
खेलमा विश्व शान्तिका लागि निर्णायक दुई गोल गरेका सुरज थारु म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत भदौ १२ गते बुधबारको अन्तिम प्रिक्वाटरफाइनल खेल आयोजक गौतम सामुदायिक विकास केन्द्र, पिपरिचापा र बुद्ध सेभेन स्टार क्लब, सैनामैना बीच हुने खेल संयोजक रोशन पुनले जानकारी दिए ।
गौतम बुद्ध सामुदायिक विकास संस्था, कञ्चन–५, पिपरिचापा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भदौ २० गतेका दिन हुनेछ ।