कोटिहवा । पूर्व विजेता नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल यहाँ जारी स्व. कमलराज पाठक स्मृति २२औं लिस्नु कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार सम्पन्न तेस्रो प्रिक्वाटरफाइनलमा नवयुवाले गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवललाई शून्यका विरुद्ध २ गोलले हराउँदै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
नवयुवाको जितमा कृपा चौधरी र दिपेश गुरुङले गोल गरे । दुवै तर्फ चर्चित राष्ट्रियस्तरका खेलाडीहरु भए तापनि नतिजा नवयुवाले आफ्नो पक्षमा पार्यो । खेलमा नवयुवा कै दिपेश गुरुङ म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत भदौ २५ गते मंगलबारको अन्तिम प्रिक्वाटरफाइनल खेल आयोजक लिस्नु युवा क्लब, कोटिहवा र झरना स्पोर्टस क्लब, कुञ्जलापुरबीच हुने खेल संयोजक कृष्ण गुरुङले जानकारी दिए ।
लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ६५ हजार प्राप्त गर्नेछ । कुल १२ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।