News साविक विजेता फर्साटिकर अन्तिम चारमा
सुरज राना मगर

कोटिहवा । संघर्षपुर्ण जित निकाल्दै साविक विजेता फर्साटिकर युवा क्लब, फर्साटिकर यहाँ जारी स्व. कमलराज पाठक स्मृति २२औं लिस्नु कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो क्वाटरफाइनलतर्फ फर्साटिकरले निकटतम प्रतिद्वन्द्वी सञ्जिवनी युवा क्लब, देवीनगरलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ सञ्जिवनीका लागि फागुराम थारुले गोल गरेका थिए भने फर्साटिकरका लागि निरज चौधरीले गोल फर्काएका थिए । टाईब्रेकरमा भने फर्साटिकरले ५–४ ले नतिजा आफ्नो पक्षमा पार्यो ।

खेलमा फर्साटिकरका निरज चौधरी म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत भदौ २८ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल र वालिङ युनाइटेड, स्याङ्जा बीच हुने खेल संयोजक कृष्ण गुरुङले जानकारी दिए ।

लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ६५ हजार प्राप्त गर्नेछ । कुल १२ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।

Post Comments