
चपरहट्टी । प्रतिस्पर्धात्मक खेलमा जित हात पार्दै तिलोत्तमा–८ फुटबल क्लब यहाँ जारी तेस्रो चपरहट्टी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो सेमिफाइनलतर्फ तिलोत्तमा–८ ले युनाइटेड फुटबल क्लबलाई २–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । तिलोत्तमा–८ का लागि एलिस मगर र आकाश थापाले गोल गरे । पराजित युनाइटेडका लागि भने प्रशन्न श्रेष्ठले गोल गरेका थिए ।
तिलोत्तमा–८ ले अब उपाधिका लागि आयोजक चपरहट्टी फुटबल क्लबसँग फाइनल खेल्नेछ । यद्यपि यही असोज २ गते हुने भनिएको फाइनल खेल भने विविध कारणका बीच स्थगित भएको छ । साथै प्रतियोगिताको फाइनल खेलबारे छिटै जानकारी गराइने पनि आयोजकले जनाएको छ ।
कुल ३० टोलीहरु सहभागि प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक साजन रासकोटीले जानकारी दिए ।