News एकतर्फी जितका साथ पूर्वाञ्चल युनाइटेडलाई चौथो बुढिगंगा सुकचर च्यालेञ्ज कपको उपाधि
गोलनेपाल

सुकचर । सहज जित निकाल्दै यहाँ सम्पन्न चौथो बुढिगंगा सुकचर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि पूर्वाञ्चल युनाइटेड फुटबल क्लब, मोरङले जितेको छ ।

शनिबार सम्पन्न फाइनल भिडन्तमा पूर्वाञ्चलले चुलाचुली फुटबल क्लब, दमकलाई ५–१ को फराकिलो अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

पूर्वाञ्चलका लागि बबिन बोहराले दुई गोल गरे । त्यस्तै सुरज चौधरी, उत्सव राई र पुजन चौधरीले थप एक–एक गोल गरे । पराजित चुलाचुलीका लागि भने ओसन राईले एक मात्र गोल फर्काएका थिए ।

नव युवा क्लब, बुढिगंगा–६, सुकचरको आयोजना तथा बुढिगंगा गाउँपालिका, मोरङ र बुढिगंगा गाउँपालिका वार्ड नम्बर ६ को कार्यालयको संयोजनामा सम्पन्न प्रतियोगिताको विजेता बनेको पुर्वाञ्चलले उपाधिसहित नगद १ लाख १ हजार हात पार्यो भने उपविजेता चुलाचुलीले ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

सर्वोत्केष्ट खेलाडी बने बबिन

त्यस्तै विधागततर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पूर्वाञ्चल युनाइटेडका बबिन बोहरा घोषित भए । त्यसवापत उनले नगद २५०० र ट्रफी हात पारे । फाइनल खेलको म्यान अफ द म्याच पनि पूर्वाञ्चलका सुजन चौधरी चुनिए । उनले त्यसवापत नगद १५०० र ट्रफी हात पारे ।

अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक पूर्वाञ्चलका निरज चौधरी बन्दा उत्कृष्ट डिफेन्डर पूर्वाञ्चल कै बिशाल भण्डारी चुनिए । उत्कृष्ट मिडफिल्डर चुलाचुलीका कोमल खवास घोषित हूँदा उत्कृष्ट प्रशिक्षक पूर्वाञ्चलका विवश गुरुङ चुनिए ।

उदियमान खेलाडी आयोजक नवयुवाका दिपक चौधरी बन्दा प्रतियोगिता भरि कुल ७ गोल गरेका पूर्वाञ्चलका बबिन बोहराले सर्वाधिक गोलकर्ताको पुरस्कार पनि जिते । विधागततर्फ उत्कृष्ट बनेका सबैले जनही २१००–२१०० र ट्रफी हात पारे ।

प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी पूर्व संघीय मामिला तथा प्रशासन मन्त्री अमन लाल मोदी लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments