
दानापुर । रुपन्देहीको पर्यटकीय स्थल कञ्चन–१, दानापुरमा स्थापित चाँदनी युवा क्लबको आयोजनामा आउँदै गरेको बडा दशैंको अवसर पारी यही असोज १० गतेदेखि आठौं चाँदनी कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
कञ्चन–१, दानापुर स्थित आयोजक क्लब कै खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको खेल संयोजक रेम पुनले जानकारी दिए । प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहने पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि जनही नगद १०,१०५ रुपैयाँ प्रदान गरिने आयोजक क्लबका उपाध्यक्ष कुल थापाले बताए ।
पछिल्लो केही वर्ष विविध कारणवश हुन नसकेको प्रतियोगितालाई अब थप भव्यताका साथ वार्षिक रुपमा आयोजना गर्ने योजना आफूहरुको रहेको पनि आयोजक चाँदनी युवा क्लबका अध्यक्ष निम प्रसाद थापाले बताए ।