News महिला साफ च्याम्पियनसिप: खल्ती एपबाट टिकट खरिद गर्न सकिने
गोलनेपाल

दक्षिण एसियाली महिला फुटबलको सबभन्दा ठूलो प्रतियोगिता महिला साफ च्याम्पियनसिपको सातौं संस्करण यही कात्तिक १ गते बिहीबारबाट दशरथ रंगशालामा हुदैछ ।

प्रतियोगितामा उपाधिमाथि मुख्य दाबेदारी प्रस्तुत गर्दै नेपालको महिला टोलीले पनि सहभागिता जनाउँदैछ । विगतका ६ मध्ये पाँच संस्करणमा फाइनल पुगेर उपविजेता बनेको नेपाली महिला टोलीले यसपाली घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यसहित लामो तयारी गरेको छ ।

प्रतियोगितामा नेपाली टोलीको मनोबल उच्च बनाउन १२औं खेलाडीको भूमिकामा रहने दर्शकको उपस्थितीले ठूलो अर्थ राख्नेछ ।

बढि भन्दा बढि दर्शकलाई दशरथ रंगशालामा निम्त्याउने उद्देश्यसहित नेपाली फुटबलको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको माउन्ट एभरेष्ट स्पोर्ट एण्ड इभेन्ट प्रा. ली.ले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग टिकटको अधिकार खरिद सम्झौता गरिसकेको छ । रंगशालामै पुगेर फुटबलको मज्जा लिँदै नेपाली टोलीलाई समर्थन गर्ने योजनामा रहेका दर्शकलाई थप सजिलो होस भनेर माउन्ट एभरेष्ट स्पोर्ट एण्ड इभेन्टले डिजिटल वालेट खल्ती एपबाट टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको छ ।

खल्तीबाट टिकट विक्री वितरण गर्ने विषयमा माउन्ट एभरेष्ट स्पोर्ट एण्ड इभेन्ट र खल्तीबीच सम्झौता भइसकेको छ ।

"खल्तीजस्तो प्रतिष्ठित डिजिटल वालेटसँग नेपाली फुटबल प्रवर्धनको अभियानमा सहकार्य गर्न पाएको खवर सार्वजनिक गर्दा हामी गौरवान्वित महशुष गरिरहेका छौं", माउन्ट एभरेष्ट स्पोर्ट एण्ड इभेन्ट प्रा. ली. का प्रमूख कार्यकारी अधिकृत (सिइओ) थमन भुषालले भने। 

खल्तीको एपबाट सोझै अनलाइन टिकट खरिद गर्न सकिनेछ । यसका साथै दर्शकलाई वैकल्पिक सुविधा दिनका लागि खल्तीले दशरथ रंगशाला परिसरमा टिकट विक्रीका लागि काउन्टरहरु पनि सञ्चालन गर्नेछ । दक्षिण एसियाका सबै सात देशको सहभागिता रहने प्रतियोगिताको टिकट खल्ती एपबाट विक्री गर्ने सम्झौता पत्रमा माउन्ट एभरेष्ट स्पोर्ट एण्ड इभेन्ट प्रा. ली. का प्रमूख कार्यकारी अधिकृत (सिइओ) थमन भुषाल र खल्ती प्रा. ली. का सिइओ विनय खड्काले बुधबार हस्ताक्षर गरेका छन् ।

Post Comments