News इलामको रेडहर्स रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा
रमेश समदर्शी

मेचीनगर । विराटनगरको नेपाल पुलिसविरुद्ध टाइब्रेकरमा बाजी मार्दै इलामको रेडहर्स एफसी यहाँ जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज धुलाबारी माविको खेलमैदानमा भएको अन्तिम क्वार्टरफाइनल खेलमा पुलिसमाथि रेडहर्सले टाइब्रेकरमा ३-१ गोलअन्तरमा बाजी मारेको हो । निर्धारित समयमा दुवै टोलीबीच १-१ गोलको बराबरी भएको थियो ।

खेलको २०औँ मिनेटमा पुलिसका रमेश राजवंशीले पहिलो गोल गर्दै अग्रता दिलाए पनि खेलको ७५औँ मिनेटमा रेडहर्सका प्रदिप बुढाथोकीले पेनाल्टीमार्फत गोल फर्काएर स्थिति बराबरीमा ल्याएका थिए ।

खेलको प्लेयर अफ द म्याच रेडहर्सका गोलकिप्पर तथा कप्तान विवेक मगर भए । उनले नगद पाँच हजार र ट्रफी पाए । उनलाई प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, मेचीनगरका युवा तथा शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, खेलप्रेमी राजन चिमरियालगायतले नगद तथा ट्रफी प्रदान गरे ।

फाइनल प्रवेशका लागि भोलि आयोजक रोलिङ क्लब र मोरङको सम्राट स्पोर्टिङ क्लबबीच पहिलो सेमिफाइनल खेल हुने आयोजक रोलिङ क्लबका सचिव महेश खड्काले जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउने अध्यक्ष नोबेम्बर नेम्वाङले बताए ।

Post Comments