
कोल्हुवा । रोमाञ्चक जितका साथ नमोबुद्ध युवा क्लब, सप्तरी यहाँ जारी सातौं राईनो गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको प्रिक्वाटरफाइनलतर्फ नमोबुद्धले चित्लाङ फुटबल क्लब, काठमाडौंलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । त्यसअघि राईनो रंगशालामा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ नमोबुद्धका लागि सिर्जन क्षेत्री र विक्की चाम्लिङ राईले गोल गरे भने चित्लाङका लागि बिकास लामा र सबिन श्रेष्ठले गोल गरेका थिए । यद्यपि पेनाल्टीमा भने नमोबुद्धले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
खेलमा नमोबुद्धका सिर्जन क्षेत्री प्लेयर अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र टफी हात पारे । प्रतियोगिता अन्तर्गत कार्तिक ७ गते बुधबारको पहिलो क्वाटरफाइनल खेल संकटा क्लब, काठमाडौं र देशभक्त युवा क्लब, नवलपरासीबीच हुने आयोजकले जानकारी दियो ।
राईनो क्लब, मध्यविन्दु९४, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो कार्तिक १४ गतेका दिन हुनेछ ।