
काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को दोस्रो चरणको छनौटतर्फका बाँकी खेलहरुको मिति घोषणा गरेको छ ।
स्मरण रहोस, कोभिड–१९ महामारीका कारण यसअघि मार्च–अप्रिलमा हुने भनिएको छनौट चरणका खेलहरु स्थगित गरिएको थियो । त्यसपछि यसै बर्षको अक्टुबर–नोभेम्बरमा हुने घोषणा समेत गरिएको थियो । तर स्थिति सामान्य नभएपछि सो खेलहरुको मिति सन् २०२१ का लागि सारिएको थियो ।
नेपालले चाइनिज ताइपेई र अष्ट्रेलियासँग एकै साता खेल्ने
एएफसीले घोषणा गरेको नयाँ मिति अनुसार नेपालले चाइनिज ताइपेई र अष्ट्रेलिया विरुद्धको खेल एकै साता खेल्नेछ । नेपालले पहिलो खेल २५ मार्चमा चाइनिज ताइपेईसँग खेल्नेछ भने ३० मार्चमा अष्ट्रेलियासँग खेल्नेछ । अन्तिम खेल भने जोर्डनसँग ७ जुनका दिन खेल्नेछ । तीनै खेलहरु नेपालको घरेलु मैदानमा हुनेछन् ।
छनौट प्रतियोगिता अन्तरगत नेपालले अन्तिमपटक गत बर्षको नोभेम्बरमा कुवेत विरुद्ध भुटानमा खेलेको थियो । सो खेलमा नेपालले १–० को सम्मानजनक हार बेहोरेको थियो । स्मरणीय छ, नेपालले कुवेत विरुद्ध पहिलो अवे म्याच खेल्दा ७–० को हार बेहोरेको थियो ।
आफ्नो समूहमा नेपालको स्थान
छनौट प्रतियोगितातर्फ समूह बी मा रहेको नेपाल ५ खेलबाट ३ अंक जोड्दै समूहको चौथो स्थानमा छ । चार खेल खेलेको अष्ट्रेलिया १२ अंकका साथ शिर्ष स्थानमा छ भने ५ खेलबाट समान १०–१० अंक जोडेका कुवेत र जोर्डन क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । अंकविहीन चाइनिज ताइपेई भने पुछारमा छ ।
तटस्थ मैदानमा पनि हुन सक्छ खेल
एन्फाले जनाएअनुसार वर्तमान परिस्थितिमा बाँकी खेलहरु नेपाल मै खेलाउन नसकिने अवस्था श्रृजना भए सो खेलहरु तटस्थ मैदानमा भए पनि सम्पन्न हुने बताइएको छ ।