काठमाडौं । जारी साफ महिला च्याम्पियनसिपको फाइनलमा फेरि लगातार दोस्रोपटक नेपाल र बंगलादेश भिड्ने भएका छन् । प्रतियोगिताको दोस्रो सेमिफाइनलतर्फ नेपालले दश खेलाडीमा सिमित भएर पनि भारतलाई हराउँदा उपाधिका लागि बंगलादेशसँगको भेट पक्का गरेको हो ।
दशरथ रंगशालामा निर्धारित समयको प्रतिस्पर्धात्मक खेल नेपाल र भारतले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलमा संगिता बासफोरको गोलबाट भारतले खेलमा अग्रता लिए तापनि नेपालले खेलमा रोमाञ्चक पूनःरागमन गरेको थियो ।
दोस्रो हाफतर्फ रेखा पौडेलले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्दा नेपाल एक समय दश खेलाडीमा सिमित भएर दबाबमा पर्न पुगेको थियो । लगतै केही समय खेल पनि रोकिन पुग्यो । गोल खाएको केही क्षण मै नेपालले पनि गोल फर्काएको थियो । तर त्यो गोल मान्य बनेन ।
भारतका खेलाडीहरुले गोल गरेपछि खुशीयाली मनाउँदै गर्दा नेपालका लागि खाली पोष्ट रहेका बेला प्रिती राईले गोल गरेकी थिईन् । नेपाली खेलाडी र टिम अफिसियलहरुले गोलको खुशी पनि मनाए । तर, रेफ्रीले त्यो गोललाई मान्यता नदिंदा केही समय खेल पनि रोकिन पुगेको थियो ।
लामो छलफल पश्चात् फेरि सूचारु गरिएको निर्धारित समयको खेल १–१ कै बराबरीमा सकिंदा पेनाल्टी शुटआउटमा नेपालले भारतमाथि ४–२ को जित निकाल्यो । भारतका एक खेलाडीको प्रहार बारमा लागेर फर्किएको थियो भने थप एक प्रहार नेपालकी गोलरक्षक अन्जना राना मगरले रोकेी थिईन् ।
अब बुधबार हुने फाइनलमा नेपालले साविक विजेता बंगलादेशसँग उपाधिका लागि भिड्नेछ । स्मरण रहोस, आइतबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)