News तेस्रो कार्तिकेय कुमार गोल्डकपः झापा सेमिफाइनल पुग्ने अन्तिम टोली
गोलनेपाल

कर्जन्हा । झापा फुटबल क्लब, झापा यहाँ जारी तेस्रो कार्तिकेय कुमार गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

आइतबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा झापाले सलहेश युवा क्लब, सिराहालाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ सलहेशका लागि अजयी मार्टिन्सले पहिलो गोल तथा समिर तामाङले दोस्रो गोल गर्दै खेललाई २–० को स्थितिमा ल्याएका थिए । यद्यपि सलहेशले त्यो अग्रता जोगाउन सकेन ।

झापाका लागि सुदिप श्रेष्ठले पेनाल्टीबाट र रिचार्ड विलसनले अर्को गोल गर्दै खेललाई रोमाञ्चक २–२ को बराबरीमा ल्याएका थिए । पेनाल्टी शुटआउटमा भने झापाले सलहेशलाई ४–२ ले निराश तुल्यायो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापाका गोलरक्षक जियारथ शेख म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत मंसिर ३ गते सोमबारको पहिलो सेमिफाइनल खेल बागमती युवा क्लब, सर्लाही र बिराटनगर सिटी फुटबल क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।

Post Comments