
तुलसीपुर । हिरा डाँगी फाउण्डेशन, तुलसीपुर, दाङको आयोजनामा आइतबारदेखि शुरु भएको चौथो हिरा डाँगी स्मृति कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा राईजिङ स्टार युवा क्लब, घोराही, दाङले विजयी शुरुवात गरेको छ ।
तुलसीपुर स्थित अरनिको खेलमैदानमा भएको उद्घाटन खेलमा राईजिङ स्टारले स्काई क्लब, सुर्खेतलाई ४–१ को अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो । यो जितसँगै राईजिङ स्टार सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।
खेलमा राईजिङ स्टारका अरुण चौधरी म्यान अफ दि म्याच चुनिए । उनले रोहित चन्द फ्यान्स क्लबद्वारा प्रायोजित नगद पुरस्कार हात पारे । प्रतियोगिता अन्तर्गत मंसिर ३ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल ज्ञानज्योति क्लब, तुलसीपुर, दाङ र युएनबिसी, घोराही, दाङबीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीले गरेका थिए । यही मंसिर ८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२०० हात पार्नेछ भने उपविजेताले १,०१,१०० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।