News झापा कपः उद्घाटन खेलमा आर्मी र एलएक्स सिटी खेल्ने
रमेश समदर्शी

बिर्तामोड । भोलि (शनिबार)देखि सुरु हुने झापा कपको उद्घाटन खेलमा काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, काठमाडौँको एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका छन् ।

त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौँ जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, रुपन्देहीको गोर्खा ब्वाईज स्पोर्ट्स क्लब र झापा ११ फुटबल क्लब सहभागी हुने भएका छन् । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।

प्रतियोगिताका लागि १० हजार जना दर्शक क्षमताको प्यारापिट निर्माण, खेलमैदान स्तरोन्नति लगायतका काम पूरा भएको आयोजक झापा ११ का अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताले नगद ५ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक समितिका संयोजक केशवराज दाहालले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एक जना तथा उत्कृष्ट गोलकिप्पर एक जनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट एक जना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

Post Comments