सिरहाको सलहेश युवा क्लबमाथि १-० को कठिन जित हात पार्दै लिग लिडर चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा जारी झापा कप २०८१ को फाइनलमा प्रवेश गरेको छ ।
चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । चर्चको जितका लागि एकमात्र गोल विदेशी खेलाडीको नाममा रह्यो । खेलको ८१औँ मिनेटमा विदेशी खेलाडी अर्मन्डको एकमात्र गोलले चर्चले फाइनल प्रवेशको ढोका खोलेको हो । सलहेशका दुई डिफेन्डरलाई बिट गर्दै अर्मन्डले दायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो ।
टिमका केही पहिलो रोजाइका खेलाडीबिनै मैदानमा उत्रिएको चर्च ब्वाइजले खेल अवधिभर सलहेशको दबाब झेलेको थियो । विपक्षी पोस्टमा आक्रमण गर्न नसके पनि खेलको अन्तिमतिर चर्च लयमा फर्किएको थियो । चर्चका पहिलो रोजाइका खेलाडी अनन्त तामाङ, मनिष जर्घा मगर र एरिक विष्टबिनै मैदानमा उत्रिएको चर्च सलहेशको चर्को दबाबमा परेको थियो ।
सलहेशले खेल अवधिभर चर्चलाई दबाबमा राखे पनि स्कोर भने निकाल्न सकेन । खेलको १२औँ मिनेटमा सलहेशका अभी लामाले चर्च ब्वाइजका दुईजना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार सफल हुन सकेन । खेलको ५२औँ मिनेटमा प्रदिप लामाको प्रहार चर्च ब्वाइजका गोलरक्षक क्रिशल मोक्तानले पञ्च गरेर बचाएका थिए । खेलको प्लेयर अफ द म्याच विजयी टिम चर्च ब्वाइजका गोलकर्ता अर्मन्ड भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।
शनिबारको अन्तिम सेमिफाइनल खेल राष्ट्रिय जागृति क्लब सुनसरी र एनआरटी काठमाडौँबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा