
बेसीशहर । आयोजक त्रिवेणी युवा क्लब, लमजुङ र न्युरोडटिम –एनआरटी) यहाँ जारी ३२औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
आइतबार भएको प्रिक्वाटरफाइनलतर्फ आयोजक त्रिवेणीले सुन्दरबजार फुटबल क्लब, लमजुङलाई २–० ले हरायो । त्रिवेणीका लागि खेलको ५४ र ६७औं मिनटमा गरी दुवै गोल सबी गुरुङले गरे ।
त्रिवेणी रंगशालामा भएको दोस्रो खेलमा एनआरटीले चामे युथ क्लब, मनाङलाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
प्रतियोगिता अन्तर्गत पुष १५ गते सोमबार एक खेल मात्र हुने आयोजकले जानकारी दियो । जसअन्र्तगत बिहान ११ः३० बजे एपिएफ फुटबल क्लब, काठमाडौं र सामना युवा क्लब, तनहुँ भिड्ने छन् ।
त्यस्तै सोमबार गुरुङ समुदायहरुको महान चाड तमु ल्होसार (पुष १५) को अवसर पारी त्रिवेणी साँझ साँस्कृतिक कार्यक्रमसहित सडक महोत्सव हुने आयोजकले जनाएको छ ।
त्रिवेणी युवा क्लब, बेसीशहर, लमजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही पुष २० गतेका दिन हुनेछ ।