News आठौँ नव ज्योति च्यालेन्ज कपको तयारी पूरा
रमेश समदर्शी

जयपुर । झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । नव ज्योति युवा क्लबको आयोजनामा हुँदै आएको प्रतियोगिता यही माघ २१ देखि २८ गतेसम्म जयपुरस्थित आदर्श माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ ।

प्रतियोगितामा नेपाल र भारतका आठवटा टिम सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा आयोजक क्लबसँगै दार्जिलिङको मानेभञ्ज्याङ, सिलिगुढीको कञ्चनजंघा एफसी, इलाम, मोरङ, सुनसरीका एकएकवटा, झापा र काठमाडौँका सहित आठ टिमको सहभागिता रहने क्लबका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको विजेताले नगद दुई लाख २५ हजार र उपविजेता टिमले नगद एक लाख २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । एलिस सप्लायर्स मुख्य प्रायोजक रहेको प्रतियोगिताको प्लेयर अफ द म्याचले नगद सात हजार पाउने छन् ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले नगद १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ पाउने छन् ।

बुद्धशान्ति गाँउपालिका, सिजनल टिकट, गेट टिकट, विज्ञापन, विभिन्न दाताहरुबाट स्रोत संकलन गर्ने लक्ष्य लिइएको प्रतियोगिता सम्पन्न गर्न अनुमानित ३१ लाख रुपैयाँ खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष बलराम कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए ।

२०४२ सालमा स्थापना भएको उक्त क्लबले जयपुरमा खेलकुद, सांस्कृतिक, साहित्यको क्षेत्रमा विविध कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ ।

Post Comments