
फर्साटिकर । गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल यहाँ जारी शुद्धोधन गाउँपालिका १२औं फर्साटिकर कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको अन्तिम प्रिक्वाटरफाइनलतर्फ गोर्खा ब्वाईजले न्यु युथ युनियन क्लब, तानसेन पाल्पालाई ३–१ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो ।
गोर्खा ब्वाईजका लागि मनिष तामाङले दुई गोल गर्दा थप एक गोल अनुज गैरेले गरे । उता पराजित न्यु युथ युनियनका लागि रन्जित थापाले एक मात्र गोल फर्काएका थिए ।
खेलमा दुई गोल गरेका गोर्खा ब्वाईजका मनिष तामाङ खेलको म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत पुस २४ गते बुधबारको पहिलो क्वाटरफाइनल खेल भैरव स्पोर्टस क्लब, नवलपरासी र ज्योतिपुञ्ज युवा क्लब, रामपुर पाल्पाबीच हुने खेल संयोजक अकरम अलीले जानकारी दिए ।
फर्साटिकर युवा क्लब, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार ५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराईले जानकारी दिए । फाइनल खेल माघ २ गतेका दिन हुनेछ ।