
बुटवल । “फुटबलसँग गाँसेको साईनोले पनि दशकौं पूरा गरिसक्यो, तर फुटबल मैदानमा खेल्ने रहर अझै पूरा भाको छैन ।” उमेरले पाँच दशक पूरा गरिसकेका सुकलाल तामाङ हाँस्दै यसो भन्छन् ।
हाल रुपन्देहीमा जारी शुद्धोधन गाउँपालिका १२औं फर्साटिकर कपमा आफ्नो टोली अभिषेक चर्च फुटबल क्लब, रजहर, नवलपुरलाई लिएर आएका सुकलालले आफै पनि खेल्न भ्याए । अनि अन्य प्रतियोगिताहरुमा पनि खेल्न भ्याउँछन् । भलै पूरा समय खेल्न नसके तापनि यो उमेरमा यस्ता ठूला र खुला प्रतियोगिताहरुमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलाडीहरुसँगै मैदानमा उत्रिनुलाई उनी रहरसँगै फुटबलप्रतिको माया र झुकावलाई मूल कारक मान्छन् ।
यति लेख्दै गर्दा जारी १२औं फर्साटिकर कपमा अभिषेक चर्च फाइनल (माघ २ गते फाइनल) मा समेत पुगिसकेको छ । र उपाधिका लागि आयोजक फर्साटिकरसँग भिड्न तयार पनि छ । त्यसो त अभिषेक चर्च एफसीको फुटबल यात्रा रुपन्देहीमा मात्र नभई देशभरि कै मोफसलका ठूला र चर्चित प्रतियोगिताहरुमा पनि निरन्तर जारी रहँदै आएको छ । प्रतियोगितामा सहभागिता मात्र नभई अभिषेक चर्च एफसीले थुप्रै उपाधि र उपलब्धी पनि हासिल गरिसकेको छ ।
पेशाले चर्चका पास्टर समेत रहेका सुकलालको बढी जसो समय भने फुटबल मै बित्ने गर्छ । अनि उनलाई त्यसमा लाग्न परिवारको पनि पूरा साथ मिलेको छ । श्रीमती लक्ष्मी तामाङ र दुई छोरीहरु रोज र स्नेहा पनि सुकलालको फुटबल मोहलाई पूर्ण साथ दिईरहेका छन् । सुकलालको दैनिकीलाई नजिकबाट नियालिरहेकी उनकी श्रीमती लक्ष्मी भन्छिन्, “उहाँ कै कारण हामी पनि फुटबल पारखी भईसकेका छौं । फुटबलसँगै परिवारिक जिम्मेवारी पनि राम्रोसँग निर्वाह गरिरहनु भएको छ । हामी यसैमा खुशी छौं ।”
सुकलालले अभिषेक चर्च फुटबल क्लब स्थापना गरेदेखि युवा र क्षमतावान खेलाडीहरुलाई अवसर दिंदै आईरहेका छन् । वि.सं. ४०–५० को दशकतिर जावलाखेल युथ क्लब, ब्रिगेड ब्वाईज क्लब (बीबीसी), सानेपा, महाविर जस्ता क्लबहरुबाट समेत खेलेका सुकलालले नेपालमा फुटबल खेलाडीहरुको अवस्था पनि राम्रोसँग बुझेका छन् । उनी भन्छन्, “खेल्न सक्ने क्षमता भएका खेलाडीहरुलाई क्लबमा अवसर र साथ दिन म अनि अभिषेक चर्च फुटबल क्लब सधै तयार छ । फुटबल क्लब खेल्न सक्ने राम्रा खेलाडीहरुलाईका लागि अवसरको गन्तव्य होस भन्ने मेरो बुझाई छ ।”
ढल्कदो उमेरमा फुटबलका अनेक उकाली, ओराली पार गर्दै अगाडी बढीरहेका सुकलालले यो उमेरमा आएर पनि फुटबल खेलिरहनुलाई विशेष रुपमा लिन्छन् । सुकलाल भन्छन्, “अब केही महिना मै ५६ वर्ष पुग्छु । तर, अझै फुटबल खेल्नुपर्छ भन्ने जस्तो लाग्छ । म अझै थोकेको छैन । खेलकुद स्वास्थ्यका लागि लाभदायक त छ नै, त्यसैमा युवा खेलाडीहरुका लागि मेरो यो भूमिका प्रेरणा र उदाहरणीय बन्नेमा भन्नेमा आशावादी पनि छु ।”