News वालिङ युथ लिगः चौथो दिन पाँच खेलहरु सम्पन्न
गोलनेपाल

वालिङ । वालिङ युनाइटेड फुटबल क्लब, स्याङ्जाको आयोजनामा जारी वालिङ युथ लिग यु–१४ फुटबल प्रतियोगिता अन्तर्गत चौथो दिन पाँच खेलहरु सम्पन्न भएका छन् ।

वालिङ खेलमैदानमा भएको दिनको पहिलो खेलमा बाल विद्या मावि र नेपाल आदर्श स्कुलले गोलरहित बराबरी खेल्दै अंक बाँडे । दोस्रो खेलमा सगरमाथा बोर्डिङ स्कुलले अर्मादी बोर्डिङ स्कुललाई १–० ले हरायो । सगरमाथाका लागि दिवश श्रेष्ठले एक मात्र निर्णायक गोल गरे ।

दिनको तेस्रो खेलमा पूर्णअमृत माविले पिस जोन एकेडेमीलाई ४–० को अन्तरले हरायो । पुर्णअमृतको जितमा आकाश खत्रीले दुई गोल गर्दा निश्चल खनाल र सेमुएल थापाले एक–एक गोल गरे ।

चौथो खेलमा ज्ञानोदय बोर्डिङ्ग स्कुलले पायोनियर्स एकेडेमीलाई २–० ले पराजित गर्यो । ज्ञानोदयका लागि दुवै गोल सुशान गुरुङ्गले गरे । त्यस्तै दिनको अन्तिम खेलमा इभरग्रीन बोर्डिङ स्कुलले शाइन भिलेज एकेडेमीलाई ३–० ले हरायो । इभरग्रीनका लागि रिवाज रानाले ह्याट्रिक गरे ।

वालिङ युनाइटेड फुटबल क्लब, वालिङ, स्याङ्जाको आयोजनामा जारी प्रतियोगिता करिब दुई महिना लामो चल्ने खेल संयोजक केशर बहादुर थापा (राजन) ले जानकारी दिए । प्रतियोगितामा सहभागि कुल १४ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । लिग चरणको खेलहरु प्रश्चात दुई समूहका शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने पनि खेल संयोजक थापाले बताए ।

 

Post Comments