
निजगढ । रोमाञ्चक जितका साथ बिरगंज युनाइटेड क्लब जारी तेस्रो ल्होसार कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलतर्फ बिरगंजले एभरेष्ट एकेडेमीलाई २–१ ले हराउँदै उपाधि नजिक स्थान बनाएको हो । बिरगंजका लागि बिबेक चौधरी र बिक्रम लामाले गोल गरे । पराजित एभरेष्टका लागि भने आकाश थापा मगरले एक मात्र गोल फर्काएका थिए ।
खेलमा बिरगंज युनाइटेडका बिक्रम लामा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ १० गते बिहीबारको दोस्रो सेमिफाइनल खेल बेङखडी युवा क्लब र रतनपुर युनाइटेड क्लबबीच हुने आयोजकले जानकारी दियो ।
योङ स्टार युनाइटेड क्लब, निजगढ–१०, लाल, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२०२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१०१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १२ गतेका दिन हुनेछ ।