News रुपन्देहीमा सातौं सञ्जिवनी कप शुरु, चाँदनीको विजयी शुरुवात
सुरज राना मगर

बागधुरा । शहिद दिवसको अवसर पारी वार्षिक रुपमा हुँदै स्व. लाल बहादुर–डम्मर कुमारी छन्तेल स्मृति सातौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ ।

तिलोत्तमा–१४, बागधुरा, देवीनगर स्थित सञ्जिवनी खेलमैदानमा भएको उद्घाटन खेलमा चाँदनी युवा क्लब, दानापुरले विजयी शुरुवात गर्यो । उद्घाटन खेलमा चाँदनीले एन्फा एकेडेमी, बुटवललाई १–० ले हरायो ।

चाँदनीको जितमा बिकास सिंजालीले एक मात्र निर्णायक गोल गरे । चाँदनीका निर्णायक गोलकर्ता बिकास सिंजाली नै खेलको म्यान अफ दि म्याच समेत चुनिए ।

यो जितसँगै चाँदनी क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत माघ १७ गते बिहीबारको खेल आयोजक सञ्जिवनी युवा क्लब, देवीनगर र न्यु सिृजना युवा क्लब, करौजिया बीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले गरेकी थिईन् । सो अवसरमा मुख्य प्रायोजकहरु राम बहादुर, कुल बहादुर र खिम बहादुर छन्तेलसहित रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, आयोजक क्लबका अध्यक्ष अर्जुन केसी (हापु) लगायतको उपस्थिति रहेको थियो ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६१,१११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल माघ २७ गतेका दिन हुनेछ ।

Post Comments