
तरहरा । छैठौं सुदेश सुब्बा मेमोरियल हिम शिखर कप अन्तर विद्यालय नकआउट फुटबल प्रतियोगिताको उपाधि हिम शिखर इङलिस स्कुल, तरहराले जितेको छ । शुक्रबार भएको फाइनलमा हिम शिखरले डिपोट स्कुल, धरानलाई टाईब्रेकरमा हराउँदै उपाधि उचाल्न सफल भएको हो ।
निर्धारित समयको फाइनल खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । जसमा हिम शिखरले नतिजा ४–२ ले आफ्नो पक्षमा पार्दै उपाधि घरमै राख्न सफल भयो ।
विजेता हिम शिखरले उपाधिसहित नगद २५ हजार हात पार्यो भने उपविजेता डिपोटले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । हिम शिखरका आइसन राई फाइनल खेलको म्यान अफ दि म्याच र प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चुनिए ।
अन्य विधातर्फ उत्कृष्ट डिफेन्डर डिपोट स्कुलका कुशल राई बन्दा उत्कृष्ट मिडफिल्डर पनि डिपोट स्कुल कै रोमियो भुजेल चुनिए । उत्कृष्ट फरवार्ड पनि डिपोट स्कुल कै रिदम बिक चुनिदा उत्कृष्ट प्रशिक्षक हिम शिखरका समर्पण मगर बने । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि हिम शिखर कै सुबुहाङ राई घोषित भए ।
हिम शिखर इङलिस स्कुल, तरहरा, सुनसरीको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक राई लगायतले पुरस्कृत गरेका थिए ।