News बगर भाईखलक भेट्रान्स कपको सेमिफाइनल समिकरण पूरा
उमेश पुन

पोखरा । पर्यटकीय शहर पोखराको टुंडिखेलमा जारी १४औं बगर भाईखलक भेट्रान्स कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फ सेमिफाइनल समिकरण पुरा भएको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार गार्डेन एफसी, झम्सीखेल, जोरपाटी काठमाडौं र ब्रदरहुड काठमाडौं अन्तिम चारमा प्रवेश गर्दै सेमिफाइनल समिकरण पुरा भएको हो ।

गार्डेन एफसी र झम्सीखेल बिहीबार नै सेमिफाइनलमा प्रवेश गरेका थिए भने, जोरपाटी र ब्रदरहुड शुक्रबार भएको क्वाटरफाइनलबाट विजयी बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् ।

क्वाटरफाइनल खेलतर्फ जोरपाटी काठमाडौंले ताकामी काठमाडौंलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्यो । जोरपाटीको जीतमा विकास राई र विकास श्रेष्ठले समान १÷१ गोल गरे । खेलमा रञ्जित लामा म्यान अफ द म्याच घोषित भए ।

अर्को खेलमा नागसोती हेटौंडालाई ब्रदरहुडले ३–० गोल अन्तरले पराजित गर्यो । ब्रदरहुडको जीतमा बुद्धराज लिम्बु, हर्कराज गुरुङ र अंकुर कुमार खड्गीले समान १÷१ गोलको योगदान दिए । सो खेलबाट भेषराज लिम्बु म्यान अफ द म्याच घोषित भए ।

सेमिफाइनल खेल शनिबार हुने आयोजक बगर भाइखलकका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए । उनका अनुसार पहिलो सेमिफाइनल खेल जोरपाटी र गार्डेन एफसीबीच हुनेछ भने, दोस्रो सेमिफाइनल खेल ब्रदरहुड काठमाडौं र झम्सीखेल ललितपुरबीच हुनेछ ।

यस्तै ५० वर्ष उमेर समूहतर्फ ४ वटा खेल र ६० वर्ष उमेर समूहतर्फ २ वटा खेल हुने आयोजकले जनाएको छ । 
 
प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीले नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
 
यस्तै ५० वर्ष उमेर समूहतर्फको विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
Post Comments