
पोखरा । पोखरामा आजदेखि आठौं विरेन स्मृति १८औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । ‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा पोखराको टुँडिखेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरे ।
उद्घाटन खेलमा आयोजक बुद्धटोल युवा क्लबले क्याफे अमेरिकानो बारिष्टा ट्रेनिङ सेन्टरलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजकले प्रतियोगितामा विजयी शुरुवात गर्यो । बुद्धटोलको जीतमा विपिन मगर र रिनिस तामाङले समान १/१ गोल गरे ।
यस्तै दोस्रो खेलमा एन टु क्याफेले मसिना बगरलाई १–० गोलले पराजित गर्यो । एन टु क्याफेको जीतमा विशाल गुरुङले निर्णायक गोल गरे ।
बुद्धटोल युवा क्लबको आयोजनामा पोखरामा आजबाट सुरु भएको आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा ४८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव रेशम सापकोटाले बताए ।