News कन्ट्रोल १५औं इटहरी गोल्डकपमा युनाइटेड खर्साङ्गको विजयी शुरुवात
गोलनेपाल

इटहरी । शनिबारदेखि शुरु भएको कन्ट्रोल १५औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा युनाइटेड खर्साङ्ग फुटबल क्लब, भारतले विजयी शुरुवात गरेको छ ।

इटहरी रंगशालामा भएको उद्घाटन खेलमा युनाइटेड खर्साङ्गले आयोजक राष्ट्रिय जागृति क्लब, इटहरीलाई २–१ ले हराउँदै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

खेलको ११औं मिनटमा एलेक्सको गोलबाट राष्ट्रिय जागृतिले खेलमा अग्रता बनाए पनि युनाइटेड खर्साङ्गले रोमाञ्चक पूनःरागमन गर्यो । २१औं मिनटमा सत्यम शर्माले युनाइटेड खर्साङ्गका लागि बराबरी गोल फर्काए भने ५५औं मिनटमा हेमराज भुजेलले दोस्रो तथा निर्णायक गोल गरे ।

खेलमा युनाइटेड खर्साङ्गका सत्यम शर्मा प्लेयर अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार हात पारे । यो जितसँगै युनाइटेड खर्साङ्ग सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत फागुन ४ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल सगरमाथा युथ क्लब, मोरङ र न्युरोडटिम (एनआरटी) बीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले गरेका थिए । राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।

Post Comments