
इटहरी । मच्छिन्द्र फुटबल क्लब, काठमाडौं जारी कन्ट्रोल १५औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ मच्छिन्द्रले झापा–११ फुटबल क्लब, झापालाई १–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । इटहरी रंगशालामा भएको खेलको ३१औं मिनटमा मलिक बमिडेल युसुफले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता युसुफ नै खेलको म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत फागुन ६ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाईज युनाइटेड, ललितपुर र धरान फुटबल क्लब, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।
राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।