
दुहबी । सहज जित निकाल्दै वार्ड नम्बर ५ यहाँ जारी सातौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ वार्ड नम्बर ५ ले वार्ड नम्बर १२ लाई ४–१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । श्री सरस्वती माविको खेलमैदानमा भएको खेलमा वार्ड नम्बर ५ का लागि अभिषेक गुरुङ, प्रनिश न्यौपाने, जोशन राई र अनुज हलुवाईले गोल गरे । पराजित वार्ड नम्बर १२ का लागि भने सुशिल विश्वकर्माले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।
खेलमा वार्ड नम्बर ५ का अभिषेक गुरुङ म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन ६ गते मंगलबारको प्रिक्वाटरफाइनल खेल वार्ड नम्बर ३ र वार्ड नम्बर ६ बीच हुने आयोजकले जानकारी दियो ।
दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १५ गतेका दिन हुनेछ ।