
पनौती । आयोजकका दुई टोलीहरु मानेश्वरी ब्वाईज क्लब (निलो) र मानेश्वरी ब्वाईज क्लब (रातो) जारी लक्ष्मीनारायण (लक्ष्य) स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पनौती क्षेत्रीय रंगशालामा भएको पहिलो खेलमा मानेश्वरी ब्वाईज (निलो) ले मल्पी ब्वाईज क्लबलाई १–० ले हरायो । मानेश्वरी ब्वाईज (निलो) का लागि जगत बहादुर भोलनले एक मात्र निर्णायक गोल गरे । खेलमा विजयी टोली मानेश्वरी (निलो) कै गोलरक्षक उज्ज्वल बस्नेत म्यान अफ दि म्याच बने ।
अर्को खेलमा मानेश्वरी ब्वाईज (रातो) ले डिपिओ काभ्रेलाई ४–१ को अन्तरले हरायो । मानेश्वरी (रातो) का लागि बिक्की चौधरीले दुई गोल गरे भने सुजित बुढाथोकी र सुजन श्रेष्ठले समान १–१ गोल गरे । उता पराजित डिपिओका लागि शंकर मगरले एक मात्र गोल फर्काएका थिए । खेलमा मानेश्वरी (रातो) का सुजित बुढाथोकी म्यान अफ दि म्याच चुनिए ।
मानेश्वरी ब्वाईज क्लब र मानेश्वरी महिला समूह, पनौती, काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । कुल १८ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल फागुन १३ गतेका दिन हुनेछ ।