
दियोबजार । आयोजक हिमालय फुटबल क्लब, कञ्चन जारी १६औं कञ्चनकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
शनिबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा हिमालयले भैरव स्पोर्टस क्लब, नवलपरासीलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।
त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ हिमालयका लागि कप्तान विश्वास थापा र विश्व थापाले गोल गरे भने पराजित भैरवका लागि दुवै गोल कमल भट्टराईले गरे ।
टाईब्रेकरमा भने हिमालयले ४–३ ले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा हिमालयका गोलरक्षक नरेन्द्र पुन म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत फागुन ११ गते आइतबारको पहिलो सेमिफाइनल खेल सैनामैना कलेज अफ हस्पिटलिटी, सैनामैना र फर्साटिकर युवा क्लब, फर्साटिकर बीच हुने खेल संयोजक संजय विश्वकर्माले जानकारी दिए ।
हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजारको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १४ गतेका दिन हुनेछ ।