
दुहबी । वार्ड नम्बर ८ यहाँ जारी सातौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । शनिबार भएको तेस्रो क्वाटरफाइनलतर्फ वार्ड नम्बर ८ ले वार्ड नम्बर ३ लाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
वार्ड नम्बर ८ को जितमा दुवै गोल सन्तोष चौधरीले गरे । टोलीको जितमा निर्णायक दुई गोल गरेका सन्तोष चौधरी नै खेलको म्यान अफ दि म्याच चुनिए । उनले पुरस्कार वापत नगद २ हजार र मेडल हात पारे ।
प्रतियोगिता अन्तर्गत फागुन ११ गते आइतबारको चौथो क्वाटरफाइनल खेल वार्ड नम्बर ७ र वार्ड नम्बर १ बीच हुने आयोजकले जानकारी दियो ।
दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १५ गतेका दिन हुनेछ ।