News समिचौर र आयोजक हरमटारी सेमिफाइनलमा प्रवेश
गोलनेपाल

गोरखा । समिचौर युथ क्लब र आयोजक हरमटारी क्लब जारी नवौं गोर्खाली रनिङ कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश र्ने अन्तिम दुई टोली बनेका छन् ।

प्रतियोगिताको तेस्रो क्वाटरफाइनलतर्फ समिचौरले सुर्योदय युथ क्लबलाई १–० को साँघुरो अन्तरले हरायो । समिचौरका लागि बिपिन कंडेलले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच भने समिचौरका गोलरक्षक सरोज तामाङ चुनिए ।

त्यस्तै अन्तिम क्वाटरफाइनलमा आयोजक हरमटारीले न्यु दौतरी युथ क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्यो । हरमटारीका लागि फोफोना इब्राहिम र आश बहादुर गुरुङले गोल गरे । उता न्यु दौतरीका लागि भने आश्विन तामाङले एक मात्र गोल फर्काएका थिए । खेलमा हरमटारीका आश बहादुर गुरुङ म्यान अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत फागुन १३ गते मंगलबार १ बजे हुने पहिलो सेमिफाइनल खेल समिचौर युथ क्लब र चाइनिज धारा फेमिली क्लबबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल ३ बजे आयोजक हरमटारी क्लब र लक्ष्मीबजार हर्ट क्लब बीच हुनेछ ।

हरमटारी क्लब, गोरखाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार हात पार्नेछ भने फेयर प्ले टिमले नगद ३५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यसबाहेक सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही १५–१५ हजार हात पार्नेछन् भने उदियमान खेलाडीले १० हजार प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो । फाइनल खेल यही फागुन १४ गतेका दिन हुनेछ ।

Post Comments