
दियोबजार । फाइनलमा पनि उत्कृष्ट जित हात पार्दै बुधबार सम्पन्न १६औं कञ्चन कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सैनामैना कलेज अफ हस्पिटलिटी, सैनामैनाले जितेको छ ।
कञ्चन–४, दियोबजार स्थित हिमालय खेलमैदानमा भएको उपाधि भिडन्तमा सैनामैना कलेजले योङ ब्वाईज फुटबल क्लब, देवदहलाई ३–१ ले हराउँदै उपाधि उचाल्न सफल भयो । सैनामैना कलेजको जितमा सुरज चौधरी एक्लैले ह्याट्रिक गरे । उता पराजित योङ ब्वाईजका लागि भने कप्तान मनोज गुरुङले एक मात्र सान्त्वना गोल फर्काए ।
विजेता बनेको सैनामैना कलेजले उपाधिसहित नगद २ लाख १ हजार हात पार्यो भने उपविजेता योङ ब्वाईजले १ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । सैनामैना कलेजका निर थापा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले त्यसवापत नगद ७५०० र ट्रफी हात पारे ।
उत्कृष्ट गोलरक्षक पनि सैनामैना कलेज कै अनुप राना बन्दा उदियमान खेलाडी आयोजक हिमालय एफसीका अभिषेक विश्वकर्मा चुनिए । त्यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको पुरस्कार भने सैनामैना कलेजका सुरज चौधरी र योङ ब्वाईजका हिमाल थापाले संयुक्त रुपमा हात पारे । उत्कृष्ट बनेका सबैले जनही ५५००–५५०० सय र ट्रफी, हात पारे ।
प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, उपाध्यक्ष मौसमी थापा मगर, आयोजक हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजारका अध्यक्ष प्रकाश थापा, खेल संयोजक संजय विश्वकर्मा लगायतले पुरस्कृत गरेका थिए ।
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ फागुन ५ गतेदेखि शुरु भएको प्रतियोगितामा रुपन्देही र नवलपरासीका गरी कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।