
पाँचथर । दोश्रो फिदिम भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा ४ लाख ७७ हजार ९ सय रुपैयाँ बचत भएको आयोजकले जनाएको छ ।
आयोजक फिदिम भेट्रान्स क्लबले पत्रकार सम्मेलन गरी गत माघ ९ देखि १२ गतेसम्म फिदिम माविको खेल मैदानमा सम्पन्न प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरेको हो ।
चार दिनसम्म चलेको प्रतियोगितामा कुल ८ लाख १५ हजार २०१ रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ । क्लबले १२ लाख ९३ हजार १०१ रुपैयाँ आम्दानी गरेको छ । १ लाख ९० हजार रुपैयाँ भने जम्मा हुन बाँकी रहेको हुँदा उठ्न बाँकी रकमसमेत क्लबको नाफा ६ लाख ६७ हजार ९ सय हुनेछ ।
ुु१ लाख ९० हजार रुपैयाँ सहयोग प्रतिबद्धता रकम उठ्न बाँकी छ,’ आयोजक समितिका सचिव असल मगरले भने, ‘हामी यो रकम उठाउन पहल गरिरहेका छौं ।’ आयोजकका अनुसार फिदिम नगरपालिकाबाट दोश्रो पुरस्कारबापतको ५५ हजार ५५५ रुपैयाँ सहयोग प्राप्त भएको छ ।
प्रतियोगितामा नेपालका सात र भारतको एक गरी आठ टिम सहभागी थिए । दोश्रो संस्करणको फिदिम भेट्रान्स गोल्डकप प्रतियोगिताको उपाधि झापा बिर्तामोडको रेड स्टार क्लबले जितेको थियो ।