News साविक विजेता पुलिस बिरगंज गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

बिरगंज । साविक विजेता विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौं जारी दोस्रो बिरगंज गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको क्वाटरफाइनलतर्फ पुलिसले बागमती युवा क्लब, सर्लाहीलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । खेलको १६औं मिनटमा मनिष सेढाईको गोलबाट पुलिसले खेलमा अग्रता बनाएको थियो । यद्यपि २५औं मिनटमा भुपाल मगरको गोलबाट बागमतीले खेललाई बराबरीमा ल्याएको थियो ।

तर खेलको अन्तिमतिर ७६औं मिनटमा उज्वल राईले पुलिसका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई अन्तिम चारमा पुर्याउन सफल भए । खेलमा पुलिसका कप्तान राम वजी म्यान अफ दि म्याच बने । उनले पुरस्कार वापत नगद १० हजा र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत फागुन २० गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाईज युनाइटेडबीच हुने आयोजकले जानकारी दियो ।

भेट्रान सिटी क्लब, बिरगंजको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित मधेश प्रदेश कै सर्वाधिक धनराशी रहेको नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीले एक थान इलेक्ट्रीक स्कुटर हात पार्नेछ भने अन्य विधातर्फका उत्कृष्ट खेलाडीहरुले जनही २०–२० हजार पाउनेछन् । फाइनल खेल यही फागुन २४ गतेका दिन हुने छ।

Post Comments