News आर्मी महिला गोल्डकपको फाइनलमा
रमेश समदर्शी

इलाम । त्रिभुवन आर्मी फुटबल क्लब यहाँ जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक ओएसिस क्लबलाई २-० गोलअन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीका लागि दुवै गोल विमला चौधरीले गरेकी हुन् ।

पहिलो हाफको ४३औँ मिनेटमा हेमा चौधरीको क्रस पासमा विमला चौधरीले सोझै गोल गरेकी हुन् । आयोजककी गोलरक्षक सुशिला चौधरीले विमलाको प्रहारलाई अन्दाज गर्न पाइनन् ।

यस्तै, परिवर्तित खेलाडी सपना लामाले इलामको बक्सभित्र मिलाइदिएको क्रसमा खेलको ६८औँ मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई उपाधि नजिक पुर्याएकी हुन् ।

आजको खेलको प्लेयर अफ दी म्याच आर्मीकी गोलकर्ता विमला चौधरी बनिन् । उनले नगद ५ हजार र ट्रफी पाइन् । भोलि अन्तिम सेमिफाइनल खेल एन्फा महिला लिग विजेता एपिएफ एफसीले दोस्रो स्थानको नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comments