
बिरगंज । साता दिन नबित्दै केपी ओली कप र कपिलवस्तु गोल्डकप जितेको मच्छिन्द्र फुटबल क्लब, काठमाडौं जारी दोस्रो बिरगंज गोल्डकपको पनि फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा मच्छिन्द्रले सलहेश युवा क्लब, सिराहालाई ३–१ ले हराउँदै लगातार तेस्रो उपाधि नजिक पुग्न सफल भएको हो ।
बिरगंज स्थित आदर्शनगर रंगशालामा भएको खेलमा मच्छिन्द्रका लागि स्टेफन जलीले दुई गोल गर्दा थप एक गोल आदित्य शाक्यले गरे । उता पराजित सलहेशका लागि भने बिनी इब्राहिमले एक मात्र गोल फर्काएका थिए ।
खेलमा मच्छिन्द्रका लागि महत्वपूर्ण दुई गोल गरेका स्टेफन जली खेलको म्यान अफ दि म्याच बने । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । मच्छिन्द्रले अब यही फागुन २४ गते हुने फाइनलमा साविक विजेता नेपाल पुलिस क्लबसँग उपाधिका लागि भिड्नेछ ।
भेट्रान सिटी क्लब, बिरगंजको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित मधेश प्रदेश कै सर्वाधिक धनराशी रहेको नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीले एक थान इलेक्ट्रीक स्कुटर हात पार्नेछ भने अन्य विधातर्फका उत्कृष्ट खेलाडीहरुले जनही २०–२० हजार पाउनेछन् ।