News पुलिसद्वारा बिरगंज गोल्डकपको उपाधि रक्षा
गोलनेपाल

बिरगंज । साविक विजेता नेपाल पुलिस क्लब, काठमाडौंले शनिबार सम्पन्न दोस्रो बिरगंज गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि जित्दै उपाधि रक्षा गर्न सफल भएको छ ।

फाइनलमा पुलिसले मच्छिन्द्र फुटबल क्लबलाई टाईब्रेकरमा ३–० ले हराउँदै उपाधि जित्न सफल भयो । आदर्शनगर रंगशालामा भएको निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो ।

निर्धारित समयतर्फ १२औं मिनटमा समिराज थोकरको गोलबाट मच्छिन्द्रले खेलमा अग्रता लिएको थियो । तर, दोस्रो हाफको ५५औं मिनटमा बिकास बिकले पुलिसका लागि गोल फर्काएका थिए । टाईब्रेकरमा पनि पुलिसले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

मच्छिन्द्रका समिराज थोकर फाइनल खेलको प्लेयर अफ दि म्याच बने । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफ हात पारे । उत्कृष्ट गोलरक्षक पुलिसका अमित टमाटा बन्दा उत्कृष्ट प्रशिक्षक पुलिस कै चेतन घिमिरे बने । उत्कृष्ट बनेका सबैले जनही २०–२० हजार र ट्रफी हात पारे ।

भेट्रान सिटी क्लब, बिरगंजको आयोजनामा सम्पन्न प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने पुलिसका कप्तान राम वजी घोषित भए । उनले पुरस्कार वापत एक थान इलेक्ट्रिक स्कुटर प्राप्त गरे । विजेता बनेको पुलिसले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्दा उपविजेता मच्छिन्द्रले ५ लाख ५० हजारमा चित्त बुझायो ।

 

Post Comments