News मोरङ: चैत्र १५ देखि अन्तर कलेज फुटबल प्रतियोगिता सुरु
गोलनेपाल

मोरङको उर्लाबारीमा यही चैत्र १५ गतेदेखि अन्तर कलेज स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ।

उर्लाबारी फुटबल क्लबको आयोजनामा हुने यो प्रतियोगिता उर्लाबारी-६ स्थित राधिका माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताबारे जानकारी गराउन आयोजकले पत्रकार सम्मेलनको आयोजना गरेको थियो। उद्घाटन खेलमा उर्लाबारी-६ को मोरङ मोडल कलेज र उर्लाबारी-३ को विद्या ज्योति इङ्लिस बोर्डिङ स्कुल भिड्ने भएका छन्। प्रतियोगितामा उर्लाबारीका ११ वटा कलेज (+2 स्तर) का टिमहरूको सहभागिता रहनेछ।

आयोजक समितिका संयोजक विशाल तामाङका अनुसार, खेलाडीहरूलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै उनीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। चैत्र २५ गते हुने फाइनल खेलका विजेताले १ लाख १ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्। प्रतियोगिता सफल बनाउन क्लबका पदाधिकारीहरू, स्थानीय संघसंस्था र खेलप्रेमीहरूको विशेष सहयोग रहने आयोजकको विश्वास छ।

उर्लाबारी फुटबल क्लबका अध्यक्ष तथा एन्फाका केन्द्रीय सदस्य दिपेन्द्र धिमालका अनुसार, कलेज स्तरबाटै खेलाडी उत्पादन गर्ने लक्ष्य अनुसार यो प्रतियोगिता आयोजना गरिएको हो। मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जिब बुढाथोकीले पनि पालिका स्तरमै लिग प्रतियोगिता सञ्चालन गर्न सके थप खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो। यस प्रतियोगिता सञ्चालनका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

कार्यक्रमको सञ्चालन क्लबका सचिव घनश्याम भण्डारीले गर्नुभएको थियो। यस प्रकारका प्रतियोगिताले उदीयमान खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने अवसर दिनुका साथै भविष्यमा व्यावसायिक खेलाडी उत्पादनमा समेत टेवा पुर्याउने आयोजकहरूको विश्वास छ। स्थानीय स्तरबाटै फुटबल प्रवर्द्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ यस्ता प्रतियोगिताहरूको निरन्तरता आवश्यक रहेको खेलसम्बद्ध व्यक्तित्वहरूले बताएका छन्।

Post Comments