News इरान र अर्जेन्टिना विश्वकपका लागि छनौट
गोलनेपाल

काठमाडौं । पछिल्लो समय उत्कृष्ट लयमा रहेको एसियाली राष्ट्र इरान र विश्व विजेता अर्जेन्टिना सन् २०२६ मा हुने फिफा विश्वकपका लागि आ–आफ्नो क्षेत्रबाट छनौट भएका छन् ।

एसियाली छनौटतर्फ समूह ए मा रहेको इरानले दुई खेल खेल्न बाँकी छँदै विश्वकपमा छनौट हुने दोस्रो एसियाली टोली बनेको हो । यसअघि एसियाबाट जापान पनि छनौट भईसकेको छ ।

इरानले छनौट प्रतियोगिता अन्तर्गत आफ्नो आठौं खेलमा उज्वेकिस्तानसँग २–२ गोलको बराबरी खेल्यो । यो बराबरी नतिजाका बावजुद ८ खेलबाट २० अंक जोडेको इरान शिर्ष स्थानमा रहेर विश्वकपको टिकट काट्न सफल भयो । पराजित उज्वेकिस्तान १७ अंकका साथ दोस्रो स्थानमा छ र सोझै विश्वकपका लागि छनौट हुने संघारमा पनि छ ।

अर्जेन्टिना दक्षिण अमेरिकाबाट छनौट हुने पहिलो टोली

त्यसैगरी विश्व विजेता अर्जेन्टिना दक्षिण अमेरिकाबाट सन् २०२६ को फिफा विश्वकपमा छनौट हुने पहिलो टोली बनेको छ । अर्जेन्टिनाले आफ्नो १४औं खेलमा चिरप्रतिद्वन्द्वी ब्राजीललाई ४–१ ले हरायो ।

यो जितपछि १४ खेलबाट ३१ अंक जोडेको अर्जेन्टिना दक्षिण अमेरिकी छनौटतर्फ अंकतालिकाको शिर्ष स्थानमा रहेर चार खेल अगावै विश्वकपमा छनौट हुन सफल भयो ।

दोस्रो स्थानमा २३ अंक जोडेको इक्वेडर छ । समान २१–२१ अंक जोडेका उरुग्वे, ब्राजील र पाराग्वे क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् । २० अंकका साथ कोलम्बिया छैठौं स्थानमा छ । समूहको शिर्ष ६ टोली दक्षिण अमेरिकाबाट सोझै विश्वकपका लागि छनौट हुनेछन् ।

त्यस्तै १५ अंक जोडेको भेनेजुएला सातौं स्थानमा छ । सातौं स्थानमा रहने टोलीले इन्टर कन्फिडेरशन प्ले अफ खेल्ने अवसर पाउनेछ । १४ अंक जोडेको बोलिभिया आठौं स्थानमा रहँदा समान १०–१० अंक जोडेका पेरु र चिली क्रमशः नवौं र दशौं स्थानमा छन् ।

हालसम्म कुल सात टोलीहरु छनौट

त्यस्तै ओसिआना क्षेत्रबाट न्युजिल्याण्डले पनि अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा हुने फिफा विश्वकपका लागि स्थान बनाईसकेको छ । समग्रमा हालसम्म तीन आयोजक राष्ट्रसहित जापान, इरान, अर्जेन्टिना र न्युजिल्याण्ड गरी कुल सात टोलीहरुले सन् २०२६ को फिफा विश्वकपमा स्थान बनाईसकेका छन् ।

स्मरण रहोस, सन् २०२६ को फिफा विश्वकपमा पहिलोपटक कुल ४८ टोलीहरुले सहभागिता जनाउने छन् ।

Post Comments