
गोलबजार । झिनो अन्तरको जितका साथ गोलबजार स्पोर्टस क्लब, गोलबजार, सिरहा यहाँ जारी आठौं गोलबजार मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको तेस्रो क्वाटरफाइनलतर्फ गोलबजारले इनरुवा फुटबल क्लब, सुनसरीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
गोलबजारको जितमा दोस्रो हाफको नवौं मिनटमा आकाश राईले गरेको एक मात्र गोलबजारलाई सेमिफाइनल पुग्न निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता गोलबजारका आकाश राई नै म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत चैत्र १८ गते सोमबारको चौथो क्वाटरफाइनल खेल साम्ची फुटबल क्लब, भुटान र सलहेश युवा क्लब, सिरहाबीच हुने आयोजकले जानकारी दियो ।
गोलबजार नगरपालिका, सिरहाको आयोजना जारी प्रतियोगिताको विजेताले उपाधिहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २१ गतेका दिन हुनेछ ।