
भोजपुर । दावेदार आँकिएको चर्च ब्वाईज युनाइटेड क्लब, ललितपुर संघर्षपुर्ण जितका साथ जारी आठौं मेयर भोजपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको क्वाटरफाइनलतर्फ चर्च ब्वाईजले एलएक्स सिटी फुटबल क्लबलाई सडन डेथमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा र त्यसपछिको टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा सडन डेथमा चर्च ब्वाईज ४–३ ले विजयी बन्यो ।
खेलमा चर्च ब्वाईजका गोलरक्षक विवश चौधरी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख १८ गते बिहीबारको पहिलो सेमिफाइनल खेल जर्जियन फुटबल क्लब, भारत र एपिएफ फुटबल क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।
भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपवजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २० गतेका दिन हुनेछ ।