
बिर्तामोड । झापाको बिर्तामोडमा यही बैशाख १९ र २० गते खुला फुटसल प्रतियोगिता हुने भएको छ । नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिता हुने भएको हो ।
प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर आयोजकले जनाएको छ । बिर्तामोड ५ स्थित बिर्तामोड स्पोर्टस् सेन्टरद्वारा सञ्चालित फुटसल कोर्टमा हुने प्रतियोगिताको आयोजक पनि सेन्टर नै हो ।
पूर्वमा अहिलेसम्मकै ठुलो पुरस्कार धनराशि र धेरै टिम सहभागी फुटसल प्रतियोगिता हुन लागेको सेन्टरका सञ्चालक तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वअन्तरिम प्रशिक्षक प्रवेश कटवालले जानकारी दिए ।
अर्का सञ्चालक सञ्जीव प्रसाईंका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख, ट्रफी र मेडल तथा उपविजेताले नगद ५० हजार, ट्रफी र मेडल पाउनेछ । प्रतियोगितामा नेपाल र भारतका ३२ वटा टिमको सहभागिता रहने अर्का सञ्चालक गणेश कटवालले जानकारी दिए ।
