News सिद्धिचरण नगरपालिकामा मेयर कप फुटबल प्रतियोगिता हुने
गोलनेपाल

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाले ‘मेयर कप’ अन्तर्गत पहिलोपटक खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। नगरपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार प्रतियोगिता २०८२ वैशाख ३० गतेदेखि जेठ ३ गतेसम्म सगरमाथा जनता माध्यमिक विद्यालय, ओखलढुङ्गा नजिकको खेलमैदानमा सञ्चालन हुनेछ।

प्रतियोगितामा विजेता टिमलाई रु २,२२,२२२ नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै दोस्रो स्थान हासिल गर्ने टिमले रु १,११,१११ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, सेमिफाइनलमा पुग्ने दुई टिमलाई जनही रु ४४,४४४ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

त्यसैगरी व्यक्तिगत विधाको पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, गोलकिपर, मिडफिल्डर, डिफेन्डर र सर्वाधिक गोलकर्तालाई जनही रु ५,००० नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले २०७९ वैशाख २८ गते दिउँसो ४ः०० बजेभित्र रु ५,००० टिम दर्ता शुल्कसहित नाम दर्ता गर्नुपर्ने आयोजकले जनाएको । खेल तालिका वैशाख २९ गते प्रकाशित गरिनेछ। विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 9842583793, 9863972371, 9841114823, 9844271716 मा सम्पर्क गर्न सकिने छ ।

सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले प्रतियोगिता स्थानीय युवा खेलाडीहरूका लागि प्रतिभा प्रदर्शन गर्ने प्लेटफर्म बन्ने विश्वास व्यक्त गरे। उनले प्रतियोगिताले खेलकुदको विकासमा सकारात्मक योगदान पुर्‍याउने र समुदायमा मनोरञ्जनको माध्यम बन्ने आशा व्यक्त गर्दै सबै सरोकारवाला निकाय, खेलाडी तथा दर्शकहरूलाई सक्रिय सहभागिताका लागि आग्रह समेत गरे ।

Post Comments