News रेडहर्ष र धाइजन-चारआली बाहुनडाँगी कपको फाइनल खेल्दै
रमेश समदर्शी

बाहुनडाँगी (झापा) । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेलमैदानमा इलामको रेडहर्ष एफसीले झापाको धाइजन-चारआली एफसीसँग प्रथम बाहुनडाँगी च्यालेञ्ज कपको फाइनल आज खेल्दैछ ।

बाहुनडाँगी युवा क्लबको आयोजना तथा विद्या विकास एकाडेमीको मुख्य प्रायोजनमा आयोजित च्यालेञ्ज कपको पहिलो सेमिफाइनलमा झापाको शनिश्चरे एफसीलाई सडन डेथमा पराजित गरेर इलाम उपाधि नजिक पुगेको हो ।

निर्धारित समयमा दुवै टिमले १-१ गोलको बराबरी खेलेपछि निर्णय सडन डेथबाट भएको हो । जसमा इलामले ६-५ गोलअन्तरले बाजी मारेको थियो ।

यस्तै, अन्तिम सेमिफाइनल खेलमा धाइजन चारआलीले आयोजक बाहुनडाँगीलाई २-० गोलअन्तरको स्पष्ट जित निकाल्दै उपाधि होडमा पुगेको थियो । जसमा आर्यन राई र आशिष चापागाईंले गोल गरेका थिए ।

Post Comments