News मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल: एपीएफ फुटबल क्लबलाई उपाधी
गोलनेपाल

मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले उचालेको छ ।

नुवाकोट जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजनामा आज शनिवार भएको अत्यन्त प्रतिस्पर्धात्मक फाईनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई अतिरिक्त सात मिनेट थप गरिएको समयमा १-० गोलको अन्तरले पराजित गरेको हो ।

दुई विभागीय टिमको खेलमा एपिएफकी जर्सी नम्बर १५ की अनिता केसीले अतिरिक्त थप गरिएको ८६औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई जीत दिलाएकी हुन् । खेलमा अनितानै 'प्लेयर अफ दी म्याच' र प्रतियोगिताकै सर्वाधिक गोलकर्ता समेत बनिन् । उनले प्रतियोगितामा तीन गोल गरेकी थिईन् । उनले सुजिम बजारबाट नगद पाँच हजार पुरस्कारसहित उपहार प्राप्त गरिन् ।

प्रतियोगिताका विजेता एपीएफले पाँचलाख रुपैयाँ र उपविजेता नेपाल पुलिसले दुईलाख ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा एपीएफकी रेनुका नगरकोटीले उत्कृष्ट खेलाडी र अञ्जना रानामगरले उत्कृष्ट गोलरक्षक, जिवेश पाण्डे उत्कृष्ट प्रशिक्षक घोषित भए । नेपाल पुलिस क्लबकी मीना देउवाले उदीयमान खेलाडीको रुपमा घोषित भईन् । प्रतियोगिताका विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङलगायतले शिल्ड, तक्मा र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगिताका हरेक खेलको उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । नुवाकोट जिल्ला फुटबल सङ्घको सहआयोजना, बागमती प्रदेश खेलकुद विकास परिषद् मुख्य संरक्षक र विदुर नगरपालिका संरक्षक रहेका थिए । प्रतियोगितामा तीन वटा विभागीयसहित आठ वटा टिमको सहभागिता रहेको थियो । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा वैशाख १३ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो ।

Post Comments