
सुनवल । उत्कृष्ट जित हात पार्दै वार्ड नम्बर ३ यहाँ जारी आठौं सुनवल मेयर कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सुनवल–७ स्थित स्थानीय खेलमैदानमा भएको प्रिक्वाटरफाइनल खेलमा वार्ड नम्बर ३ ले वार्ड नम्बर ११ लाई शून्यका विरुद्ध ३ गोलको अन्तरले पराजित गर्यो ।
वार्ड नम्बर ३ का लागि टोप बहादुर भुजेल, तनिष गुरुङ्ग र दिल बहादुर गुरुङ्गले गोल गरे । खेलको म्यान अफ दि म्याच पनि वार्ड नम्बर ३ कै तनिष गुरुङ्ग घोषित भए ।
प्रतियोगिता अन्तर्गत बैशाख २५ गते बिहीबारको प्रिक्वाटरफाइनल खेल वार्ड नम्बर ६ र वार्ड नम्बर ४ का बीच हुने खेल संयोजक प्रकाश बाह्रघरेले जानकारी दिए ।
सुनवल नगरपालिका, नवलपरासीको आयोजना तथा आठौं मेयर कप सञ्चालन एवम् व्यवस्थापन समितिको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ९० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो जेठ ४ गतेका दिन हुनेछ ।